चिकित्सा शिक्षा आयोगले मुख्यतः चिकित्सा शिक्षासँग सम्बन्धित शैक्षिक कार्यक्रमको शुल्क निर्धारण, सिट निर्धारण ,एकीकृत प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको आशय पत्र तथा सम्बन्धन प्रदानका लागि मापदण्ड निर्धारण, वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान लगायतका कार्य गर्दछ। चिकित्सा शिक्षा आयोगले गर्ने अन्य धेरै कामहरु छन् । आयोगको काम, कर्तव्य र अधिकारको विस्तृत जानकारीका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ६ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम ३ मा हेर्न सकिन्छ।
चिकित्सा शिक्षा क्षेत्रका साथै सम्बन्धित विभिन्न विषयमा अध्यापन गर्ने/गराउने शिक्षणसंस्थाका विज्ञहरु नै आयोगको विज्ञका रुपमा हुन्छन् ।
आयोगले परीक्षासँग सम्बन्धित, मापदण्डसँग सम्बन्धित र अन्य विषय क्षेत्रमा आवश्यक पर्ने विज्ञहरुको सुचिकरणका लागि सार्वजनिक सुचना मार्फत आवेदन लिन्छ र तोकिएको मापदण्ड पूरा भएका विज्ञहरु मध्येबाट विज्ञहरुको सूची तयार गर्दछ।तीनै सूचिकृत नामका आधारमा विज्ञ परिचालन गरिन्छ ।
चिकित्सा शिक्षा आयोग सम्बन्धी विषयमा आवश्यक जानकारी निम्नलिखित माध्यमवाट प्राप्त गर्न सकिन्छ।
- चिकित्सा शिक्षा आयोगको Website: mec.gov.np
- चिकित्सा शिक्षा आयोगको अर्धवार्षिक बुलेटिन तथा वार्षिक प्रतिवेदन ,
- गोरखापत्र राष्ट्रिय दैनिकका विभिन्न अङ्कहरुमा समय समयमा प्रकाशन हुने सूचना,
- आयोगको कार्यालयमा रहने सूचना अधिकारी,
- आयोगको website मा राखिएको FAQ
- आयोगको सोधपुछ शाखा गरिने सम्पर्क,
- निर्देशनालय तथा शाखाहरुको विशिष्टिकृत सुचना र सम्पर्क बाट,
चिकित्सा शिक्षा -शिक्षण संस्थामा विद्यार्थी भर्ना प्रक्रिया देहाय बमोजिम हुनेछ ।
(क) आयोगद्धारा सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा उतीर्ण भई योग्यताक्रमका आधारमा म्याचिङ्गको प्रक्रिया बाट मात्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन सकिन्छ।
(ख) प्रत्येक चरणको भर्ना सूची प्रकाशन पश्चात भर्नाका लागि न्युनतम ५ दिनको समय दिईएको हुन्छ।
(ग) शैक्षिक शत्र सुरु भएको ३५ दिन भित्रमा भर्ना कार्य सम्पन्न भई सक्नेछ ।
तोकिएको शिक्षण संस्थाले भर्ना नलिएमा विद्यार्थीले शिक्षण संस्थाको प्रमुखसँग सम्पर्क गरी यसको कारणबारे स्पष्ट हुनुपर्दछ र समस्या समाधानका लागि आयोगमा सम्पर्क गर्नुपर्दछ । यस सम्बन्धमा आयोगले वास्तविकता बुझी नियमानुसारको सम्बोधन गर्दछ ।
सम्बन्धन प्राप्त वा आङ्गिक शिक्षण संस्थाले स्वीकृत मापदण्ड पूरा नगरेमा वा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क लिएमा त्यस्ता शिक्षण संस्थाको कुनै एक वा सो भन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेजी हुन सक्दछ ।
यसरी सम्बन्धन खारेजी हुदैमा उक्त संस्थामा अध्ययनरत विद्यार्थीलाई अध्ययन पूरा गर्नका लागि कुनै समस्या पर्दैन । यस्ता शिक्षण संस्थामा अध्ययनरत विधार्थीहरुको अध्ययन पूरा गराउने तथा उपाधि प्रदान गर्ने कार्य सम्बन्धित विश्वविधालय वा परिषदले गर्नुपर्नेछ र सो को आर्थिक दायित्व सम्बन्धन खारेज भएको शिक्षण संस्थाको हुनेछ ।
- सर्वप्रथम आयोगको वेवसार्इटमा रहेका सूचना र विवरण हेर्नुपर्दछ।
- सूचना अधिकारीसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
- आफ्नो जिज्ञासा कुन निर्देशनालय वा शाखासँग सम्बन्धित हो सोही निर्देशनालयका निर्देशक वा सम्बन्धित शाखाका कर्मचारीसँग आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ।
- यति गर्दा पनि तपार्इको जिज्ञासाको चित्तबुझ्दो जवाफ नपाएमा आयोगका सदस्य सचिव, आयोगका उपाध्यक्षज्यू समक्ष सम्पर्क गर्न सक्नुहुनेछ।
कुनै परीक्षार्थीले आवेदनका समयमा पेश गरेको विवरण र अपलोड गरेका शैक्षिक प्रमाणपत्र तथा कागजहरु झुठो ठहर भएमा निजको नाम जुनसुकै बखत योग्यता क्रमको सूचीबाट हटाई त्यस्तो उम्मेदवारलाई कार्यकारी समितिको निर्णय बमोजिम चिकित्सा शिक्षा आयोगबाट दुई शैक्षिक शत्रसम्म सञ्चालन हुने कुनै पनि तहको प्रवेश परीक्षामा सहभागी हुनबाट बञ्चित गर्न सकिनेछ । साथै त्यस्तो नक्कली कागजात प्रमाणित भएमा विद्यार्थी हुँदा वा भविष्यमा पेशामा हुँदा समेत जुनसुकै समयमा कार्वाही हुन सक्दछ। निजको सम्बन्धित परिषदको पेशागत अधिकार पत्र (लाइसेन्स) समेत खारेज हुन सक्दछ।प्रचलित कानुन बमोजिम थप कार्वाहि समेत हुन सक्दछ।
कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको भनी प्रमाणित गराउन तोकिएको फाराममा आफ्नो विवरण भरी आफूले अध्ययन गरेको विद्यालयमा निवेदन दिनुपर्दछ। विद्यालयको प्र.अ.ले प्रमाणित गरिसकेपछि सम्वन्धित स्थानीय तहको शिक्षा शाखा प्रमुख बाट समेत प्रमाणित गराउनुपर्ने हुन्छ। यसका लागि कक्षा ६ देखि १० सम्मका लब्धाङ्कपत्र, प्रमाणपत्र आवश्यक पर्दछ। ती लब्धाङ्कपत्रहरु र सम्बन्धित विद्यालयको प्रधानाध्यापकले प्रमाणित गरेको उक्त फाराम स्थानीय तहका शिक्षा प्रमुख समक्ष पेश गर्नु पर्दछ। स्थानीय तहका शिक्षा प्रमुखले व्यहोरा ठिक भएमा आफ्नो नाम, पद खुलार्इ दस्तखत गरेर कार्यालयको छाप समेत लगाई प्रमाणित गरिदिनु पर्दछ।
यस कार्यका लागि तोकिएको फारामको ढाँचा आयोगको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ ।
आयोगले प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिन भित्र त्यस्तो वर्षभरीमा आफूले सम्पादन गरेका कामकारवाहीको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने गर्दछ।
आयोगले प्रकाशन गरेको वार्षिक शैक्षिक कार्यतालिका (एकेडेमिक क्यालेन्डर) का आधारमा परीक्षा सम्बन्धी गतिविधि सञ्चालन हुन्छ । वार्षिक शैक्षिक कार्यतालिका आयोगको वेवसाईट www.mec.gov.np प्राप्त गर्न सकिन्छ ।
पर्दैन । परीक्षा फाराम भर्ने लगायत आयोगका परीक्षा सम्बन्धी सबै गतिविधि अनलाईन पद्दतिबाट हुन्छ ।
चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह तर्फ १४ वटा, स्नातकोत्तर तह तर्फ ५३ वटा, DM/MCh तर्फ १५ वटा विषय/ शैक्षिक कार्यक्रम रहेका छन् । National Board of Medical Specialties तर्फ Specialty (स्नातकोत्तर सरह) र Sub specialty (DM/MCh सरह का कार्यक्रम रहेका छन्।
चिकित्सा शिक्षा अन्तर्गतका तह, विषय र कार्यक्रमको विस्तृत विवरण राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को अनुसुची ८ मा उल्लेख गरिएको छ। (http://mec.gov.np/np/detail/national-medical-education-regulation-2077)
- स्नातक तहको प्रवेश परीक्षामा सामेल हुनका लागि विज्ञान(Physics, Chemistry, Biology सहितको विषय लिई औसतमा ५० प्रतिशत प्राप्ताङ्क वा २.४ जीपीए सहित कक्षा १२ वा सो सरह उत्तीर्ण भएको हुनुपर्दछ तर BNS (Bachelor in Nursing Science) तर्फका लागि Proficiency Certificate Level अथवा Diploma in Nursing मा कम्तिमा ५० प्रतिशत प्राप्ताङ्क सहित उत्तीर्ण गरी Nepal Nursing Council मा दर्ता भएको हुनुपर्दछ ।
- स्नातक तहको प्रवेश परीक्षामा सामेल हुनका लागि आवश्यक थप योग्यताको विबरण सम्वन्धित शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको पाठ्यक्रम (syllabus) मा निर्धारण भए बमोजिमको योग्यता पुरा भएको हुनुपर्दछ ।
- आयोगबाट प्रकाशित सूचनालाई राम्ररी पढ्नु र बुझ्नु पर्दछ।
- आफ्नो न्यूनतम योग्यता पुग्ने कुरा एकिन गर्नुपर्दछ।
- आफूले आवेदन गर्न चाहेको समूहमा अनलाइन माध्यम मार्फत दरखास्त फाराम पेश गर्नुपर्दछ।
- परीक्षा तालिकासँग नबाझिने गरी एक वा एक भन्दा बढी शैक्षिक कार्यक्रममा छुटाछुट्टै बैंक भौचर अपलोड गरी आवेदन गर्नु पर्दछ ।
- बैंक भौचर भर्ने अन्तिम म्याद दरखास्त पेश गर्ने अन्तिम मिति भन्दा २ दिन अगावै समाप्त हुने हुँदा सुचनालाई राम्ररी पढ्नु र बुझ्नु पर्दछ।
- दरखास्त फाराम साथ अपलोड गर्नुपर्ने सम्पूर्ण कागजात रुजु गर्नु पर्दछ ।
- नेपाली नागरिकता /राष्ट्रिय परिचयपत्र तथा विदेशी नागरिकको हकमा राहदानी,
- न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिप्ट ।
- विदेशी बोर्ड वा विश्वविद्यालयबाट उत्तीर्ण हुने नेपालीहरूको हकमा नेपाल सरकारले तोकेको निकाय वा विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र,
- शैक्षिक योग्यताका प्रमाणपत्रहरू प्रतिशत वा ग्रेड नखुलेको भए सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानले प्रतिशत वा ग्रेड खुलाएको प्रमाणपत्र
- आरक्षण समूहमा आवेदन गर्ने उम्मेदवारको हकमा नियमावलीको नियम २१ बमोजिम प्रमाणित हुने कागजातहरू (http://mec.gov.np/np/detail/national-medical-education-regulation-2077)
- अनुभव आवश्यक पर्नेको हकमा अनुभव सम्बन्धी प्रमाणपत्र,
- नियमावलीको नियम १६ को व्यवस्था बमोजिम सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने सरकारी चिकित्सक वा सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीका हकमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट लिएको अध्ययन अनुमति पत्र,
- Professional councilमा दर्ता हुनुपर्ने कार्यक्रम/विषयहरूका हकमा सम्बन्धित काउन्सिलमा नाम दर्ता भएको प्रमाणपत्र
- कार्यकारी समितिले तोकेबमोजिमको परीक्षा शुल्क बुझाएको बैङ्क भौचर वा सोसँग सम्बन्धित डिजिटल प्रमाण,
- हालसालै खिचिएको पासपोर्ट साइजको डिजिटल फोटो,
- आवेदकको हस्ताक्षरको स्क्यान प्रति,
- विदेशी उम्मेदवारको हकमा सम्बन्धित राष्ट्रको राष्ट्रियस्तरको एकीकृत प्रवेश परीक्षामा न्यूनतम ५० औं पर्सेन्टाइल प्राप्त गरेको अथवा उक्त प्रवेश परीक्षाको नतिजा प्रतिशतमा रहेछ भने न्यूनतम ५० प्रतिशत अङ्क प्राप्त गरेको प्रमाणपत्र,
- आयोगबाट प्रकाशित सूचनामा उल्लेख भएका अन्य कागजातहरू
परीक्षा निर्देशनालयले अनलाइन माध्यमबाट प्राप्त दरखास्त फारामहरु रुजु गरी दरखास्त फाराम स्वीकृत वा अस्विकृत गर्न सक्ने छ र सो को जानकारी सम्वन्धित उम्मेदवारलाई आयोगले निजको प्रोफायल मार्फत गर्ने छ ।
- आयोगले रोल नम्बर कायम तथा केन्द्र निर्धारणको काम सकिसकेपछि सम्वन्धित उम्मेदवारले आफ्नो प्रोफायल मार्फत प्रवेश परीक्षा हुनु भन्दा ५ दिन अघिबाट प्रवेश पत्र हेर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाएको छ ।
- उम्मेदवारले रङ्गिन कलरको प्रवेशपत्र प्रिन्ट गरी परीक्षा हलमा लैजानुपर्दछ।
- समयमै परीक्षा केन्द्रमा पुग्नुपर्दछ ।
- प्रवेश पत्र, सक्कल नागरिकता/राष्ट्रिय परिचय-पत्र/विदेशी परीक्षार्थीको हकमा सक्कल राहदानी साथमा हुनुपर्दछ ।
- प्रवेश पत्रमा लेखिएको निर्देशनको पूर्ण पालना गर्नुपर्दछ ।
- रोल नम्बर र प्रश्नपत्रको सेटको शंख्या ( Key ) सही तरिकाले लेख्ने साथै सो बमोजिमको बबल ठीक तरिकाले अनिवार्य रुपमा भर्नुपर्दछ ।
- आफूलाई सही लागेको उत्तरमा सही तरिकाले बबल भर्नुपर्दछ ।
- परीक्षार्थीले रोलनम्बर र सेट लेख्दा सही लेखी बबल भर्दा गलत भरेमा त्यस्ता परीक्षार्थीहरूको नतिजा प्रकाशन हुने छैन ।
- प्रवेश पत्रमा केरमेट गर्नुहुदैन । खेस्राका लागि कागज चाहिएमा प्रश्न पत्रकै खाली भाग प्रयोग गर्नुपर्छ ।
- परीक्षा अवधि सकिएपछि प्रश्नपत्र र उत्तरपुस्तिका (OMR Sheet) दुवै बुझाएर मात्र बाहिरिनु पर्दछ ।
- प्रवेश पत्र, सक्कल नागरिकता/ सक्कल राष्ट्रिय परिचय-पत्र/विदेशी परीक्षार्थीको हकमा सक्कल राहदानी बाहेकका कुनैपनि सामग्री परीक्षाहलमा लैजान पाइनेछैन ।
- परीक्षार्थीहरुले मोबाइल, घडी, सबै प्रकारका गरगहना, मोबाइल लगायतका कुनै पनि समग्री परीक्षा हलमा लैजान पाइदैन ।
- आफ्नो OMR Sheet मा सहि तरीकाले आफ्नो नाम, रोल्नं लेखी सोही बमोजिम ववल भर्ने।
- परीक्षाको दिनको मिति तोकिएको ढाँचामा लेख्ने ।
- परीक्षार्थीले दस्तखत गर्ने ठाँउमा दस्तखत गर्ने ।
- प्रश्न पत्रको सेट A,B,C,D मध्ये कुन हो ? एकिन गरी Set लेख्ने स्थानमा लेख्ने र सोही बमोजिम बबल भर्ने ।
- प्रत्येक प्रश्न पढी दिइएका विकल्पहरु मध्येको सही अक्षरको संकेत अक्षरमा ववल भर्ने ।
- परीक्षा हलमा उपलव्ध गराइएको जेल पेन मात्र प्रयोग गर्ने ।
- OMR Sheet लाई भाँच्ने, दोवर्याउने, फोल्ड गर्ने जस्ता कार्य नगर्ने ।
- OMR Sheet र प्रवेश पत्रमा कुनै खेस्रा नगर्ने खेस्रो गर्नुपरेमा प्रश्नपत्रको खाली ठाँउको भागलाई प्रयोग गर्ने ।
- सही तरिकाले भरेको OMR Sheet को नमूना यस प्रकार छ:-

- परीक्षार्थी प्रवेश पत्रमा उल्लेखित परीक्षा केन्द्रमा परीक्षा शुरु हुनु भन्दा २ घण्टा अगावै पुग्नु पर्दछ।
- परीक्षा हलमा परीक्षा शुरु हुनुभन्दा ३० मिनेट अगाडि प्रवेश गर्न पाइन्छ।
- परीक्षा शुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थी परीक्षा हलमा प्रवेश गर्न पाउँदैन।
- परीक्षा समय समाप्त भए पछि मात्र परीक्षा हलबाट बाहिर जान पाइन्छ ।
एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेमा तोकिएको शुल्क तिरी नतिजा प्रकाशनको ३ दिन भित्र सूचनामा उल्लेख भए बमोजिम निवेदन दिन सकिने छ ।
प्रकाशित नतिजामा कुनै पनि आरक्षण समूह भित्र परेका उम्मेद्बारको विरुद्धमा कुनै दावी विरोध गर्न चाहेमा यथार्थ प्रमाणसहित तोकिएको समयावधि भित्र आयोगमा उजुरी दिन सकिनेछ । कुनै उम्मेदवारले आवेदनका समयमा पेश गरेको विवरण वा अपलोड गरेका शैक्षिक प्रमाणपत्र तथा कागजातहरु झुठो ठहर भएमा निजको नाम जुनसुकै बखत योग्यताक्रमको सूचीबाट हटाई त्यस्तो उम्मेदवारलाई कार्यविधिको दफा १० को उपदफा ४ बमोजिम चिकित्सा शिक्षा आयोगबाट दुई शैक्षिक सत्रसम्म सञ्चालन हुने कुनै पनि तहको प्रवेश परीक्षामा सहभागी हुनबाट बञ्चित गर्न सकिनेछ । साथै त्यस्तो नक्कली कागजात प्रमाणित भएमा विद्यार्थी हुँदा वा भविष्यमा पेशामा हुँदा समेत जुनसुकै समयमा कार्वाही हुन सक्दछ। निजको सम्बन्धित परिषदको पेशागत अधिकार पत्र (लाइसेन्स) समेत खारेज हुन सक्दछ।प्रचलित कानुन बमोजिम थप कार्यवाहि समेत हुन सक्दछ।
- नतिजाको विस्तृत विवरण आयोगको वेवसाइट https://mec.gov.np र वेव पोर्टल https://entrance.mec.gov.np बाट हेर्न सकिने छ ।
- परीक्षार्थीले आफ्नो प्रोफायलमा लगइन गरेर समेत आफ्नो नतिजा हेर्न र स्कोर कार्ड डाउन्लोड गर्न सकिन्छ।
नतिजाको विस्तृत विवरण आयोगको वेवसाइट https://mec.gov.np र वेव पोर्टल https://entrance.mec.gov.np बाट हेर्न सकिने छ ।परीक्षार्थीले आफ्नो प्रोफायलमा लगइन गरेर नतिजा हेर्न र स्कोरकार्ड डाउन्लोड गर्न सकिने व्यवस्था मिलाइएको हुनाले आफ्नो स्कोरवार्ड डाउन्लोड गरी प्रिन्ट निकाल्न सिकन्छ । यसरी स्कोर कार्ड प्रिन्ट गरी पछिसम्म आवश्यक हुनेहुँदा सुरक्षितसाथ राख्नुपर्दछ।
- भर्नाका लागि योग्य हुन एकीकृत प्रवेश परीक्षाको नतिजामा सम्बन्धित परीक्षामा सम्मिलित उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कहरूको -याङ्क(Rank) को आधारमा न्यूनतम ५०औं पर्सेन्टाइल हुनुपर्नेछ ।
- विदेशी विद्यार्थी भर्ना प्रयोजनका लागि तोकिएको सिटमा दोस्रो प्राथमिकताबाट आवेदन दिने उम्मेदवारका हकमा आयोगले सूचीकृत गरेको विदेशी राष्ट्रहरूको राष्ट्रियस्तरको चिकित्सा शिक्षासम्बन्धी सबैभन्दा पछिल्लो (latest) एकीकृत प्रवेश परीक्षाको ५० औं पर्सेन्टाइल अथवा उक्त प्रवेश परीक्षाको नतिजा प्रतिशतमा रहेछ भने न्यूनतम ५० प्रतिशत अङ्क नै कायम हुनेछ ।
- भिन्नाभिन्नै राष्ट्रियस्तरका एकीकृत प्रवेश परीक्षाहरूका आधारमा योग्यता पुगी निर्धारित समयभित्रै आवेदन दिई स्वीकृत भएका उम्मेदवारहरूको एकीकृत योग्यताक्रम निर्धारण गर्दा निजहरूको प्राप्ताङ्कको प्रतिशत अनुसार गरिनेछ ।
- परीक्षार्थीले उत्तरपुस्तिका (OMR Sheet) मा रोल न. र प्रश्नपत्रको सेटको बबल नभरेमा (उल्लेख नगरेमा) वा बबल गलत भरेका उम्मेद्ववारको उत्तरपुस्तिका रद्द हुन्छ ।
- परिक्षा हल तथा केन्द्रमा होहल्ला गर्ने, नक्कल गर्ने गराउने जस्ता अमर्यादित र अनुचित कार्य गर्ने परिक्षार्थीलार्इ केन्द्राध्यक्षले तत्काल कारवाही तथा निष्काशन गर्नेछन् । यसरी कारवाही तथा निष्काशनमा परेका परिक्षार्थीको उत्तरपुस्तिका परिक्षण नगरी रद्द हुन्छ ।
- परीक्षामा अनुचित कार्य गरेको ठहर भई आयोगले रद्द गर्ने निर्णय गरेको अवस्थामा पनि परीक्षा रद्द हुन्छ।
म्याचिङ्ग भन्नाले प्रवेश परीक्षाको नतिजाको योग्यताक्रम र उम्मेद्ववारले निर्धारण गरेको प्राथमिकताको आधारमा भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रममा विधार्थी छनौट गर्ने प्रक्रियालार्इ सम्झनुपर्दछ । देहायको प्रक्रिया बमोजिम प्रवेश परिक्षामा उत्तिर्ण परीक्षार्थीहरुको म्याचिङ्ग हुने गर्दछ :-
- विद्यार्थी भर्ना छनौटको मूल आधार ऐनको दफा १६ बमोजिमको एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम हुनेछ । शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम छनोटका लागि चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धि कार्यविधिको दफा २४ बमोजिम विद्यार्थीले भरेको अनलाइन प्राथमिकतालाई समेत आधार लिइनेछ ।
- उम्मेदवारले पेश गरेको आवेदन, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत, शिक्षण संस्था र शैक्षिक कार्यक्रमहरूको प्राथमिकता क्रमका आधारमा माथिल्लो योग्यताक्रममा रहेका उम्मेदवारलाई प्राथमिकता दिइ भर्नाका लागि म्याचिङ्ग गर्नुपर्नेछ ।
- आरक्षण गरिएको सिटमा नेपालका सामुदायिक विद्यालयबाट कक्षा छ देखि माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसएलसी वा एसईई) उत्तीर्ण गरेका उम्मेदवारको म्याचिङ्ग भई सिट रिक्त भएमामात्र नेपालभित्रका अन्य विद्यालयबाट माध्यमिक तहको कक्षा दशको अन्त्यमा हुने परीक्षा उत्तीर्ण गरेका सोही समुदायका उम्मेदवारलाई योग्यताक्रमका आधारमा म्याचिङ्ग प्रक्रियामा समावेश गराउनुपर्नेछ ।
- छात्रवृत्ति/सरकारी सिटमा म्याचिङ भई भर्ना नभएका विद्यार्थी सःशुल्क/खुलातर्फको म्याचिङ्गमा समावेश हुनसक्नेछन् । सशुल्क/खुलातर्फ म्याचिङ्ग भई भर्ना नभएका विद्यार्थीहरू उपदफा (४) बमोजिमको समापन म्याचिङ्गमा सहभागी हुन सक्नेछन् ।
प्रवेश परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुको म्याचिङ्गसम्बन्धी अन्य व्यबस्था चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विधार्थी भर्ना सम्बन्धी कार्यविधिको दफा २५ बमोजिम हुने गर्दछ ।
म्याचिङ्गका लागि प्राथमिकता निर्धारण (Priority Setting ) देहायबमोजिम गर्नुपर्दछ :-
(क) छात्रवृत्ति वा स:शुल्क अध्ययनका लागि प्राप्त भएका वा निर्धारण गरिएका सिटमा विद्यार्थी भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रमहरू छनौट गर्न योग्ताक्रममा रहेका उम्मेदवारहरूबाट अनलाइन प्रणाली मार्फत प्राथमिकताक्रम निर्धारण गर्नका लागि सूचना प्रकाशन गरिनेछ ।
ख) माथि (क) बमोजिम आयोगले अनलाइन प्राथमिकता निर्धारणका लागि दरखास्त आह्वान गर्दा योग्यताक्रममा रहेका उम्मेदवारहरूको म्याचिङ्ग गर्दा एकीकृत वा कार्यक्रमगत अलग अलग प्राथमिकताक्रम निर्धारण गर्न पाउने गरी सूचना प्रकाशन तथा म्याचिङ्ग प्रणाली सञ्चालन गरिनेछ ।
ग) अध्ययनका लागि म्याचिङ्गमा सहभागी हुन चाहने योग्यताक्रममा रहेको उम्मेदवारहरूले तोकिएको समयसिमाभित्र भरेको प्राथमिकताक्रमका आधारमा म्याचिङ्गका प्रक्रियाहरू अगाडी बढाइनेछ। । प्राथमिकता निर्धारण गर्न छुटेका उम्मेदवारहरू समापन म्याचिङ्ग (wrap-up matching) का लागि मात्र योग्य हुनेछन् ।
घ) आँफूले वास्तविक रुपमा पढ्न चाहेको विषय (शैक्षिक कार्यक्रम) र संस्थामा मात्रै प्राथमिकताक्रम निर्धारण गर्नुपर्दछ।
ङ) प्राथमिकताक्रम निर्धारण गर्नुअघि सम्बन्धित कलेज/क्याम्पस सरकारि वा निजी मध्ये के हो र उक्त सिट संख्या निशुल्क वा शशुल्क के हो एकिन गर्नुपर्दछ।
- एकीकृत प्रवेश परीक्षाबाट कायम भएको योग्यताक्रम एक शैक्षिकसत्र सम्म कायम रहनेछ ।
- विदेशी विधार्थी भर्ना प्रयोजनका लागि तोकिएको सिटमा दोस्रो प्राथमिकताबाट आवेदन दिने उम्मेद्ववारका हकमा आयोगले सूचिकृत गरेको सम्बन्धित राष्ट्रको राष्ट्रियस्तरको चिकित्सा शिक्षा सम्बन्धी सबैभन्दा पछिल्लो ( Latest) एकीकृत प्रवेश परीक्षा मात्र मान्य हुनेछ।
कुनै शिक्षण संस्थामा भर्ना भईसकेको विद्यार्थीले आफ्नो भर्ना रद्द गर्न पाँउदैन।
विज्ञ सूची (रोष्टर) मा भएका अनुभविविज्ञहरु मध्येबाट परीक्षा निर्देशनालयले र परीक्षा समितिले निर्धारण गरेको व्यक्तिहरुबाट गोप्यरुपमा तोकिएको प्रक्रिया बमोजिम काम सम्पन्न गरिन्छ ।
विदेशी शिक्षण संस्थामा चिकित्सा शिक्षा तर्फ स्नातक तह/ स्नातकोत्तर तह (MD/MS/MDS) / DM , MCH एकेडेमिक फेलोशिप कोर्स अध्ययन गर्न जान अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) लिनु पर्छ । चिकित्सा शिक्षा सम्बद्द परिषद (काउन्सिल) हरुमा दर्ता हुने एकेडेमिक विषयहरुमा वैदेशिक अध्ययन अनुमतिपत्र लिनु पर्दछ। तर नन एकेडेमिक र सिप हस्तान्तरण हेतु गरिने प्रोफेसनल कोर्स जुन सम्बन्धित काउन्सिल परिषदमा दर्ता नहुने भएकोले यी विषयमा आयोगले अध्ययन अनुमति पत्र दिदैन ।
विदेशी विश्वविद्यालय वा शिक्षण संस्थामा चिकित्सा शिक्षा तर्फ उच्च शिक्षा अध्ययन गर्न जानु भन्दा अगाडि आयोगबाट अध्ययन अनुमतिपत्र (Eligibility Letter) लिनु पर्दछ । अनुमतिपत्र (Eligibility Letter) सहितको निवेदन पेस गरेपछि मात्र अध्ययन गरेको विषयसँग सम्बन्धित व्यावसायिक परिषदमा दर्ता हुने भएकोले अध्ययन गर्न जानु पहिले नै अनिवार्य रूपमा अनुमतिपत्र लिनु पर्छ । तर यदि कसैले सो अनुमतिपत्र नलिइ २०७७ असौज १५ (इ. स. २०२० अक्टोवर १) अगावै वैदेशिक अध्ययनमा गएको र सो वर्षमा अध्ययन अनुमति पत्र पाउन योग्य भएको भए त्यस प्रकारका विद्यार्थीले सम्बन्धित व्यवसायिक परिषदमा निवेदन दिनुपर्ने हुन्छ।
आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले अर्को प्रवेश परीक्षाको नतिजा प्रकाशन हुनु पूर्व प्रवेश परीक्षा उत्तीर्ण भएको तह तथा विषय अध्ययन गर्न जान अनुमतिपत्र पाउछन् तर आयोगले प्रवेश परीक्षा सञ्चालन नगरेका विषय अध्ययन गर्न जान चाहनेले सोही तहको मिल्दो जुल्दो विषयको प्रवेश परीक्षा उत्तीर्ण गरेको भए पुग्छ ,(उदाहरणका लागि स्नातक तहको एनस्थेसिया विषय अध्ययन गर्न +२ वा सो सरहमा बायो समूह लिएका विद्यार्थीका लागि आयोगले लिएको विपिएच, विएमएलटी जस्ता कुनै विषयको प्रवेश परीक्षा उत्तीर्ण गरेको ) ।
अनुमतिपत्र लिन चाहिने न्युनतम् योग्यता र आवश्यक कागजात आयोगको वेवसाइटमा रहेको अनुमतिपत्र (Eligibility Letter) मेनुमा दिइएकोले सो लिङ्कमा गई अनलाईन फाराम पेश गर्नुपर्नेछ ।
आयोगद्धारा सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा नदिएको वा परीक्षा दिएर योग्य नभएको वा रित पूर्वक प्रवेश परीक्षामा योग्य भएता पनि ऐनद्वारा तोकिएको नतिजाको मान्य अवधि सकिएको व्यक्तिले विदेशमा अध्ययन गर्न जान अध्ययन अनुमति पत्र (Eligibility letter) पाउन सक्दैनन्। तर आयोगले तोकेको सम्बन्धित मुलुकको राष्ट्रियस्तरको लिखित प्रवेश परिक्षामा न्युनतम ५० प्रतिशत वा ५०औं पर्शेन्टाइल बराबरको अंक प्राप्त गरि उत्तिर्ण गरेकाको हकमा सोहि देशमा अध्ययन गर्न अनुमति प्रदान गर्न सक्नेछ।
वैदेशिक अध्ययन पुरा गरेपछि त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाणपत्र लिनु पर्ने भएकोले उक्त विश्व विद्यालयले तोके अनुसारको समकक्षी तहको अवधि बराबरको अध्ययन अवधि पुरा गर्नुपर्दछ। चिकित्सा शिक्षाको कुनै पनि तह र विषयमा नेपालको भन्दा कम अवधि पढार्इ हुने कार्यक्रम पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता नपाउने र सम्बन्धित व्यावसायिक परिषदमा दर्ता नहुने भएकोले अध्ययन अनुमति पत्र (Eligibility letter ) जारी हुदैन।
चिकित्सा शिक्षाका विषयमा वैदेशिक अध्ययन अनुमति पत्रका लागि स्नातक तहका लागि रु ३०००/- (तीनहजार) र स्नातकोत्तर तह वा सो भन्दा माथिका फेलोसीप कार्यक्रमका लागि रु ५०००/- (पाँच हजार) शुल्क तोकिएको विधिबाट हिमालयन बैंकमा रहेको आयोगको खातामा बुझाउनु पर्दछ ।
यसरी शुल्क बुझाएको व्यक्तिको तोकिएको मापदण्ड नपुगी अनुमति पत्र प्रदान गर्न नसकिने भएमा रकम फिर्ता नहुने भएकोले आफू अनुमतिपत्र पाउन इलिजिबल छु छैन भन्ने एकिन गरेर मात्र रकम बुझाउनु पर्दछ।
विश्वविद्यालय/प्रतिष्ठान अन्तर्गत चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न संस्था स्थापना गर्न चाहनेले प्रत्येक वर्ष असार महिनामा आशयपत्रका लागि आयोगमा निवेदन पेश गर्नसक्ने व्यवस्था छ। परिषद अन्तर्गतका कार्यक्रम सञ्चालनका लागि परिषदको सिफारिसमा प्रत्येक वर्षको असार महिना भित्र निवेदन पेश गर्न सकिने व्यवस्था रहेको छ । आशयपत्रका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावलि, २०७७ र आशयपत्र, सम्बन्धन तथा प्रत्यायनसम्बन्धी आन्तरिक कार्यविधि, २०७८ बमोजिमका प्रक्रिया पूरा गरी तोकिए बमिजमको ढाँचामा सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठान वा परिषदको सिफारिस सहित निवेदन दिनु पर्नेछ ।
आशय पत्र प्राप्त गरेको शिक्षण संस्थाले सम्बन्धनको सिफारिसका लागि देहायका शर्तहरु पुरा गरेको हुनुपर्दछः
- आशयपत्रमा उल्लिखित शर्तहरु पूरा गरेको,
- अस्पताल आवस्यक पर्ने कार्यक्रमका लागि प्रचलित कानून बमोजिम स्विकृती लिई लगातार तीन वर्षसम्म तोकिएको बेड संख्याको आफ्नै अस्पताल पूर्ण रुपमा सञ्चालन गरेको।
- आयोगले निर्धारण गरेको मापदण्ड र प्रचलित कानूनले तोकेका मापदण्ड पूरा गरेको।
- विश्र्वविद्यालय/ परिषदबाट सम्बन्धन प्राप्त गर्न योग्य रहेको प्रमाण पेश गरेको।
- अनुसुचिमा तोकिए बमोजिम भौतिक, प्राज्ञिक तथा शैक्षिक पूर्वाधार पूरा गरेको ।
- स्वयम् मूल्यांकन प्रतिवेदन संलग्न गरेको।
- प्रचलित कानूनले तोकेको सबै प्रक्रिया पूरा गरेको ।
कुनैपनि नयाँ शैक्षिक संस्थाले चिकत्सा शिक्षा अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न इच्छुक भएमा चिकित्सा शिक्षा ऐन २०७५ को दफा ११ बमोजिम आशयपत्र लिनु परेमा र चिकित्सा शिक्षाका कार्यक्रमहरु सञ्चालन भइरहेका शिक्षण संस्थाले थप कार्यक्रम सञ्चालन गर्नु परेमा आशयपत्र, सम्बन्धन तथा प्रत्यायनसम्बन्धी आन्तरिक कार्यविधि, २०७८ अनुसार प्रकिया पुरा गर्नु पर्दछ । कार्यविधि आयोगको वेवसाइटमा उपलब्ध छ ।
राष्ट्रिय चिकित्सा ऐन २०७५ ले शिक्षण शुल्क भन्नाले "शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभर लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क सम्झनु पर्दछ र सो शब्दले आयोगको स्वीकृतीमा शिक्षण संस्थाले लिने अन्य शुल्कलाई समेत जनाउँदछ" भनी स्पष्ट उल्लेख गरेको छ ।
राष्ट्रिय चिकित्सा ऐन २०७५ दफा १८(१) क मा चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि लिइने शुल्क सम्बन्धमा "विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा सञ्चालन खर्च, मुद्रास्फिति, भौगोलिक अवस्थिति, छात्रवृत्ति तथा निःशुल्क सेवा समेतलाई दृष्टिगत गरी आयोगले शुल्क निर्धारण गर्नेछ" भनी उल्लेख गरिएकोले सोहि आधारमा आयोगले शिक्षण शुल्क निर्धारण गर्ने गर्दछ । आयोगले शिक्षण शुल्क निर्धारण सिफारिस समिति गठन गरी उक्त सिफारिस समितिको सिफारिस समेतका आधारमा शिक्षण शुल्क निर्धारण गर्ने गर्दछ । तसर्थ प्रत्येक शैक्षिक शत्रको शिक्षण शुल्कको दर फरक फरक हुन सक्दछ ।
वार्षिक रुपमा फेरबदल हुन सक्ने शुल्कको विवरण आयोगको वेवसाईटमा प्रकाशन गर्ने गरेको छ ।चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०७९/०८० का लागि निर्धारण गरेको विभिन्न विषयमा विधा/कार्यक्रमगत शुल्कको विवरण आयोगको वेवसाईट www.mec.gov.np मा उपलब्ध छ ।
स्नातक तहको एमविविएस कार्यक्रममा उपत्यका बाहिर र उपत्यकाभित्रका शिक्षण संस्थाको शिक्षण शुल्क फरक छ।अन्य कार्यक्रम र शिक्षण संस्था सबैमा समान हो।
आयोगले तोकेको शिक्षण शुल्क बाहेक अन्य शुल्क तिर्न अनिवार्य हुदैन। सम्बन्धित शिक्षण संस्था र अध्ययन गर्ने विद्यार्थी / अभिभावकको समझदारीमा आवास ,खाना आदि शुल्क तिर्नु पर्ने हुन सक्दछ।
शिक्षण संस्थाको आवास (होस्टल) मा बस्न वाध्यकारि हुँदैन तर शिक्षण संस्थाले तोकेको कक्षामा समयमा उपस्थित हुनुका साथै आफ्नो अध्ययन सम्बन्धी जिम्मेवारी पूरा गर्नुपर्दछ।
चिकित्सा शिक्षा आयोगले तोकेको शिक्षण शुल्क अधिकतम शुल्क भएकोले आयोगले तोकेभन्दा बढी शुल्क कुनै पनि शिक्षण संस्थाले लिन पाउँदैन । बढी शुल्क लिएमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय, सम्बन्धित विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा उजुरी दिन वा सो को जानकारी दिन सकिन्छ ।
आयोगको मापदण्ड निर्देशनालयले शिक्षण संस्थाको मापदण्ड तोकेको हुन्छ । सो मापदण्डका आधारमा स्वमूल्याङ्कन साधन ( Self Appraisal Tool / Yard Stick ) विकास गरेको छ । सो स्वमूल्याकन साधनमा मागेका सूचना तथा जानकारी सम्बन्धित शिक्षण संस्थाले नै भर्न र उपलब्ध गराउन पर्ने हुन्छ । त्यसरी उपलब्ध गराइएको स्वमूल्याकन साधनका जानकारिका का आधारमा आयोगले खटाईएका विज्ञहरुको समूहबाट कार्यक्षेत्रमा नै पुगेर सत्यापन र अनुगमन गरिन्छ । अनुगमन समूह (Team ) को सिफारिसका आधारमा सिट निर्धारण सिफारिस समितिले प्रतिवेदन तयार गरी आयोगको कार्यकारी समितिमा पेश गर्छ ।
कार्यकारी समितिबाट सिट निर्धारण भइसके पछि आयोगको वेवसाईटमा सर्वसाधारणका जानकारीका लागि सार्वजनिक गरिन्छ ।
विद्यार्थीको पठनपाठनलाई केन्द्रित गरी पूर्वाधार, जनशक्ती राष्ट्रिय, अन्तराष्ट्रिय अभ्यास तथा मापदण्ड अनुसार सिट निर्धारण हुने भएकोले अधिकतम तथा न्यूनतम भन्ने अबस्था रहन्न ।
सामन्यतया छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले विषय र शिक्षण संस्था परिवर्तन गर्न पाउदैन।
अध्ययन गर्ने विद्यार्थीको जिम्मेवारी देहाय बमोजिम हुनेछ :
- छात्रवृत्तिमा छनोट भइसकेपछि सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा भर्ना हुनु पर्नेछ,
- सम्बन्धित शिक्षण संस्थाको प्रचलित नियम र अनुशासनको परिधिमा रही नियमित अध्ययन गर्नुपर्नेछ,
- बीचैमा पडाइ छोड्न पाइनेछैन,
- अध्ययनलार्इ निर्धारित अवधि भित्रै पूरा गर्नुपर्नेछ,
- अध्ययन पूरा गरिसकेपछि ऐनको दफा ३८ (१) बमोजिम नेपाल सरकारले खटाएको दुर्गममा एक वर्ष र सुगममा एक वर्ष अनिवार्य सेवा गर्नुपर्नेछ।
छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले तोकिए बमोजिमको जिम्मेवारी पालना नगरेमा देहायबमोजिम हुनेछ :
- तोकिएको शिक्षण संस्थामा भर्ना भएर बिचैमा पढाई छोडेको वर्षपछि आयोगले सञ्चालन गर्ने कुनै पनि तहको एकीकृत प्रवेश परिक्षामा लगातार दुई वर्षसम्म सहभागी हुन पाउने छैन।साथै भविष्यमा समान तहको छात्रवृत्तिमा अध्ययनका लागि समेत अयोग्य हुनेछ ।
- छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कबुलियतनामा बमोजिमको काम नगरेमा पूर्ण शुल्क तिर्ने विद्यार्थीले तिरेको रकमको दोब्बर रकम जरिवाना गरी निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
- छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कबुलियतनामा बमोजिमको काम नगरेमा ऐन तथा नियमावली बमोजिम हुनेछ ।
नेपालभित्रका शिक्षण संस्था र विदेशबाट समेत प्राप्त हुने छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक उम्मेद्ववारले एकीकृत प्रवेश परीक्षाको लागि आवेदन गर्दा पेश गरेका देहायबमोजिमका कागजातहरुको रुजु गरी छात्रवृत्ति सिटमा छनौट गरिने हुँदा छात्रवृत्तिमा अध्ययन गर्न पेश गर्नुपर्ने कागजातहरु पनि देहायबमोजिम रहेका छन् ।
- नेपाली नागरिकता / राष्ट्रिय परिचयपत्र
- चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको सम्बन्धित तहको एकीकृत प्रवेश परीक्षामा योग्य गरेको प्रमाण,
- आरक्षित समूह तर्फको छात्रवृत्तिका लागि आरक्षित समूहको प्रमाणित कागजात,
- सरकारी सेवामा कार्यरतका हकमा विभागीय स्वीकृती,
- आयोगले माग गरे बमोजिमको अन्य कागजात।
निशुल्क वा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पश्चात नेपाल सरकारले खटाएको दुर्गममा एक वर्ष र सुगममा एक वर्ष काम गर्ने कबुलियतनामा गर्नुपर्दछ। कुनै विद्यार्थीले कबुलियतनामा अनुसारको काम नगरेमा सम्बन्धित शिक्षण संस्थामा पूर्ण शुल्क तिर्ने विद्यार्थीले तिरेको रकमको दोब्बर रकम जरिवाना गरी निजबाट सरकारी वाँकी सरह असुल उपर गरिने छ।
विदेशबाट प्राप्त छात्रवृत्ति सिटमा छनौट गर्दा यदि सम्बन्धित तहको एकीकृत प्रवेश परिक्षाको म्याचिङ्ग प्रक्रिया भइनसकेको रहेछ भने नेपालका शिक्षण संस्था र विदेशबाट उपलब्ध छात्रवृत्ति सिटका लागि एकैपटक प्राथमिकता निर्धारण गर्न लगाई म्याचिङ्ग प्रणालीबाट विद्यार्थी छनौट गरिनेछ ।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा क्षेत्रका राष्ट्रिय पाठ्यक्रम प्रारुप/ खाका तयार गरी राष्ट्रिय पाठ्यक्रमको स्वरुप र एकरुपता कायम गर्नु हो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८(घ)मा उल्लेख भएबमजिम चिकित्सा शिक्षा आयोग अन्तर्गत स्थापित चारवटा निर्देशनालयहरु मध्ये एक निर्देशनलय-बोर्ड हो ।यसको गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धी प्रावधान राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम ३० (१) मा रहेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम ३१ मा उल्लेख भएबमोजिम यसका मुख्य कार्यक्षेत्र यसप्रकार रहेका छन्
- स्पेसियालिटिजका कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम तयारी गर्ने
- पूर्वाधार पूरा गरेका स्वास्थ्य संस्थामा स्पेसियालिटिजका कार्यक्रम सञ्चालन गर्ने स्पेसियालिटिजका नयाँ कार्यक्रम सञ्चालन गर्ने संस्था तथा फ्याकल्टी पहिचान गर्ने
- स्पेसियालिटिजका क्लिनिकल विधामा अध्ययनका लागि सिट फ्याकल्टी र सहभागीको सूची तयार गर्ने
- नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको परीक्षा सञ्चालन गर्ने वा गराउने
- अनुगमन मूल्याङ्कन पद्दति निर्माण र कार्यान्वयन गर्ने राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसँग परामर्श तथा समन्वय गर्ने
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को अनुसूची -८ बमोजिम हाल सञ्चालनमा रहेका कार्यक्रमहरु देहायबमोजिम रहेका छन् ।
- NBMS- Specialty
- NBMS-Sub Specialty
नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम स्पेसियालिटी (स्नातकोत्तर तह) तथा सबस्पेसियालिटी (स्नातकोत्तर तहभन्दा माथिल्लो तह) का कार्यक्रम हुन ।
विश्वविद्यालय, प्रतिष्ठान वा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्था बाहेक तोकिएका पूर्वाधार पूरा गरेका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालन गर्न सकिन्छ।
- नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजले सार्वजनिक सूचना प्रकाशन गरी माग गरे बमोजिमको स्वमूल्याङ्कन पेश गर्नुपर्नेछ ।
- कार्यक्रम सञ्चालनका लागि अनुमति तथा सिट प्राप्त गर्ने संस्थाहरूले नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजसँग द्विपक्षीय करार सम्झौता गरेर सम्झौता बमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
- एनबिएमएस कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेबमोजिम नियमित पठनपाठन तथा रोटेशनल पोष्टिङ्ग लगायत अन्य शैक्षिक/प्राज्ञिक क्रियाकलापहरु सञ्चालन गर्नुपर्नेछ ।
- एनबिएमएस कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुको ६/६ महिनामा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्नेछ ।
- बोर्ड अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने संस्थाले स्पेसियालिटी तहमा अध्ययन गर्ने विद्यार्थीलाई कम्तिमा नेपाल सरकारको मेडिकल अधिकृत र सवस्पेसियालिटी तहमा अध्ययन गर्ने विद्यार्थीलाई कम्तिमा नेपाल सरकारको नवौं तहको विशेषज्ञले पाउने तलब बराबरको निर्वाह भत्ता उपलब्ध गराउनुपर्नेछ ।सो बाहेक अन्य सेवा सुविधा समेत उपलब्ध गराउन सक्नेछन् ।
- राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७, नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिमका अन्य कार्यहरु गर्नुपर्नेछ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भई आयोगले सञ्चालन गर्ने सम्बन्धित तहको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
- एकीकृत प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूले आयोगले तोकेबमोजिमको म्याचिङ्ग प्रणाली अनुसार कार्यक्रम तथा संस्था छनोट गर्नुपर्नेछ ।
- स्पेसियालिटी/सवस्पेसियालिटी कार्यक्रममा म्याचिङ्ग भएपश्चात NBMS निर्देशनालयमा कबुलियतनामा गरी भर्ना हुनुपर्नेछ ।
स्पेसियालिटी/सवस्पेसियालिटी तहको अन्तिम परीक्षा सञ्चालन तथा सर्टिफिकेशन सम्बन्धी कार्यहरू चिकित्सा शिक्षा आयोग, नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिले गर्दछ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ६ (झ) आयोगको काम कर्तव्य र अधिकार अन्तर्गत नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजले लिएको परीक्षामा उत्तीर्ण हुने चिकित्सकलाई उपाधि प्रदान गर्ने व्यवस्था छ ।
नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम स्पेसियालिटी तहको कार्यक्रम स्नातकोत्तर तह सरहको हुनेछ तथा सबस्पेसियालिटी तहको कार्यक्रम सो भन्दा माथिल्लो तह सरहको हुनेछ ।
विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा बुझाउनुपर्ने रकम यसप्रकार रहेको छ-
- रजिष्ट्रेशन वापत रू. ५०,००० (पचास हजार रुपैंयाँ मात्र) भर्नाको समयमा
- थेसिस/ लगबुक/ E-Logbook Processing तथा रिभ्यू ५०,०००(पचास हजार रुपैंयाँ मात्र) दोस्रो वर्षमा
- NBMS Board Examination तथा सर्टिफिकेशनका लागि एकमुष्ठ रकम रू. २,०००,००( दुईलाख रुपैंयाँ मात्र) तेस्रो वर्षमा
- अनिवार्य तालिम तथा सेमिनारहरूमा सहभागी भएबापतको रकम
- आवास/ यातायात तथा अन्य व्यक्तिगत खर्चहरू